टोकियो । इरान युद्धका कारण विगत केही महिनादेखि खाडी क्षेत्रमा फसेका जापानसँग सम्बन्धित १० वटा जहाजहरूको एउटा फ्लिट (समूह) सोमबार हर्मुज स्ट्रेटबाट बाहिरिएको छ ।
यसैगरी दक्षिण कोरियाका लागि साउदीको कच्चा तेल बोकेको एउटा सुपरट्यांकर पनि गत साता त्यहाँबाट निस्किएको एलएसईजीको जहाज सम्बन्धी तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार जापानसँग सम्बन्धित ती जहाजहरूमा १ करोड २० लाख ब्यारेल कच्चा तेल लोड गरिएका ६ वटा ठूला कच्चा तेल वाहक जहाज, दुईवटा केमिकल ट्यांकर, एउटा सवारीसाधन वाहक जहाज र एउटा कन्टेनर जहाज रहेका छन् ।
ती ट्यांकरहरूमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट फेब्रुअरीको अन्त्यदेखि मार्चको सुरुवाती समयमा लोड गरिएका कच्चा तेलहरू रहेका छन् ।
यीमध्ये अधिकांश जहाजहरूको व्यवस्थापन जापानी ढुवानी कम्पनी ‘मित्सुई ओ.एस.के.लाइन्स’ ले गरिरहेको छ । उक्त कम्पनीले यो क्षेत्र पार गर्दा आफ्ना नाविक, कार्गो र जहाजहरूको सुरक्षालाई उच्च प्राथमिकता दिने बताएको थियो ।
यस विषयमा मित्सुई ओएसकेले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
यसैबीच, दक्षिण कोरियाली रिफाइनर कम्पनी ‘एस–ओइल’ ले आफ्नो रिफाइनरीका लागि तेल बोकेको भीएलसीसी ‘लङ विन्ड’ शनिबार जलडमरूबाट बाहिरिएको जनाएको छ ।
मार्चको सुरुतिर २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको उक्त जहाज जुलाई २६ मा दक्षिण कोरियाको ओन्सान पुग्ने एलएसईजीको तथ्यांकले देखाएको छ ।


