टोकियो । जापानको टोकियोमा सम्पर्कबिहीन भएका नेपाली विद्यार्थी अमन अधिकारी सकुशल भेटिएका छन् ।
टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत अधिकारी शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएका थिए । तर व्यापक खोजीपछि उनी सकुशल फेला परेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले उनी सकुशल फेला परेको र हाल परिवारसँगै रहेको जानकारी दिएको छ ।
अमन बेपत्ता भएको खबर सार्वजनिक भएलगत्तै जापानमा रहेका नेपाली समुदाय, विद्यालय प्रशासन र सामाजिक अभियन्ताहरू खोजी कार्यमा सक्रियताका साथ लागेका थिए ।
एनआरएनए जापानले उनको खोजीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, सूचना साझा गर्ने र चिन्ता व्यक्त गर्ने सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ ।


