टोकियो । चीनले मंगलबार अस्ट्रेलिया, भारत, जापान र अमेरिका सम्मिलित ‘क्वाड’ लाई क्षेत्रीय शान्तिमा खलल नपुर्याउन कडा चेतावनी दिएको छ ।
भारतमा क्वाडका विदेशमन्त्री स्तरीय बैठकलगत्तै आफ्नो धारणा सार्वजनिक गर्दै क्वाडले कुनै तेस्रो पक्षको हितलाई बेवास्ता गर्न नहुनेमा जोड दिएको छ ।
चीनले देशहरूबीचको सहयोग, क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिमा केन्द्रित हुनुपर्ने र यसले कुनै तेस्रो पक्षलाई लक्षित गर्न नहुने बताएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘हामी विशेष समूह बनाउने वा गुटबन्दीपूर्ण टकरावको समर्थन गर्दैनौँ । कुनै पनि सहयोगले क्षेत्रीय देशहरूबीचको आपसी विश्वास र सहकार्यलाई कमजोर बनाउनु हुँदैन ।’
अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरू मंगलबार भारतमा भेला भई फिजीमा संयुक्त रूपमा एउटा बन्दरगाह निर्माण गर्ने सहमति गरेका छन् ।
साथै, उनीहरूले महत्त्वपूर्ण खनिज र ऊर्जा सुरक्षासम्बन्धी सम्झौताहरूमा समेत हस्ताक्षर गरेका छन् ।
क्वाड पूर्वी प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई रोक्ने रणनीतिमा रहेको भन्दै चीनले यसलाई आफ्नाविरुद्ध लक्षित समूहका रूपमा हेर्दै आएको छ ।
भारतमा बसेको विदेशमन्त्री स्तरीय बैठकमा क्वाड देशहरुले प्रशान्त टापु राष्ट्र फिजीमा बन्दरगाह बनाउने महत्त्वपूर्ण निर्णय लिएका छन् ।
यसैगरी भविष्यका प्रविधिहरूका लागि आवश्यक खनिज र ऊर्जा आपूर्ति सुरक्षित गर्न नयाँ सहमतिहरू समेत गरेको बताइएको छ ।


