
टोकियो । एभरेस्ट इन्टरनेशनल स्कुल जापानको १३औँ वार्षिक सांस्कृतिक दिवस टोकियोको नाकानोस्थित नाकानो जेरो हलमा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमस्थल नेपाली पोशाक, बाजागाजा र बालबालिकाको उत्साहले भरिँदा हल नै नेपालीपन झल्किने सांस्कृतिक रंगमञ्चजस्तै बनेको थियो ।
कार्यक्रम सुरु हुनुअघि नै विद्यार्थी, अभिभावक तथा अतिथिहरूको बाक्लो उपस्थितिले वातावरण थप चहलपहलपूर्ण देखिन्थ्यो ।

नेपाली पाठ्यक्रमअनुसार पठन–पाठन सञ्चालन गर्दै आएको एभरेस्ट इन्टरनेशनल स्कुल जापानमा हाल करिब ५२० नेपाली विद्यार्थी अध्ययनरत छन् ।
प्रवासमा जन्मिएका तथा हुर्किएका बालबालिकालाई मातृभाषा, संस्कृति, संस्कार र पहिचानसँग जोडिराख्न नेपाली पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

सांस्कृतिक दिवसका अवसरमा विद्यार्थीहरूले नेपाली भाषा, कला र संस्कृतिलाई झल्काउने नृत्य, गीत, सांस्कृतिक झाँकी लगायतका विविध प्रस्तुति प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए ।
बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुति र अभिभावकहरूको उत्साहपूर्ण समर्थनका बीच हलभरी पटक–पटक तालीको गडगडाहट सुनिन्थ्यो । प्रस्तुतिहरूले प्रवासमा रहेर पनि नेपाली संस्कृतिको निरन्तरता सम्भव छ भन्ने सन्देश दिएको सहभागीहरूको भनाइ छ ।

कार्यक्रममा जापानका लागि कार्यवाहक नेपाली राजदूत हरिहर कान्त पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसीका अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष रोविन शेरचन तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले नेपाली समुदायका बालबालिकालाई भाषा र संस्कृतिसँग जोड्न गरेको प्रयासको प्रशंसा गरेका थिए ।

उनीहरूले प्रवासमा नेपाली शिक्षा प्रणालीलाई निरन्तरता दिनु समुदायका लागि गौरवको विषय भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति पनि रहेको थियो ।

कार्यक्रम समापनतर्फ जाँदा पनि हलभित्र उत्साह उस्तै देखिन्थ्यो । आयोजकका अनुसार आगामी दिनमा पनि नेपाली पाठ्यक्रमअनुसार अध्ययनलाई थप प्रभावकारी बनाउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा र संस्कारसँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य बढाउँदै प्रवासमा नेपाली पहिचान जोगाउने अभियानलाई थप बल पुग्ने विश्वास पनि व्यक्त गरिएको छ ।











