नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको निर्वाचन कार्यक्रम सार्वजनिक

सियोल । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आठौं अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिले आगामी ११ जनवरी, २०२६ मा अधिवेशन तथा मतदान सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार २०२६–२०२९ को तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न जनवरी ५ देखि ७ सम्म उम्मेदवारी दर्ता गरिनेछ ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली जनवरी ८ मा प्रकाशन गरिनेछ भने जनवरी ९ मा दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारहरूको अन्तिम नामावली जनवरी १० मा सार्वजनिक गरिने समितिले जनाएको छ ।

निर्वाचनका लागि विभिन्न पदअनुसार उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि ५ लाख कोरियन वन, वरिष्ठ उपाध्यक्षका लागि ३ लाख, उपाध्यक्ष र महासचिवका लागि २–२ लाख वन तोकिएको छ ।

यस्तै सचिव र कोषाध्यक्षका लागि १ लाख ५० हजार, सदस्यका लागि १ लाख तथा केन्द्रीय परिषद् सदस्यका लागि ३ लाख कोरियन वन शुल्क निर्धारण गरिएको छ ।

उम्मेदवारी दिन चाहने उम्मेदवारले महासंघको सदस्यता कार्ड, कोरियाको आईडी कार्ड तथा शुल्क बुझाएको भौचर अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।

उम्मेदवारी फाराम तथा आवश्यक कागजातहरू इमेलमार्फत समेत बुझाउन सकिने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

कोरिया शाखाका पूर्व अध्यक्ष अशोकप्रसाद मैनाली संयोजक रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?