आईसीसीले सबै सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय टी–ट्वेन्टीको मान्यता दिने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आफ्ना सबै सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय ट्वेन्टी ट्वेन्टीको मान्यता दिने भएको छ ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसनले सबै १ सय ४ सदस्य राष्ट्रका पुरुष र महिला टोलीले सो मान्यता पाउने बताएका छन् ।

भारतको कोलकातामा आयोजित पत्रकार सम्मेलनमा रिचर्डसनले दिएको जानकारी अनुसार महिला टोलीले आगामी जुलाई १ मा अन्तर्राष्ट्रिय टी–ट्वेन्टीको मान्यता पाउनेछन् ।

त्यस्तै पुरुष टोलीले भने सन् २०१९ को जनवरी १ बाट यस्तो मान्यता प्राप्त गर्नेछन् । हाल आई.सी.सीका पूर्ण सदस्य १२ राष्ट्रका साथै स्कटल्याण्ड, नेदरल्याण्ड्स, हङकङ, संयुक्त अरब इमरेट्स, ओमान र नेपालले अन्तर्राष्ट्रिय टी–ट्वेन्टी मान्यता पाएका छन् ।

यस्तै आई.सी.सीले बल टेम्परिङ र स्लेजिङ गर्ने खेलाडी विरुद्ध कडा कारबाही गर्ने तयारी गरेको छ । हाल भएको जरिवानाको व्यवस्थामात्रै पर्याप्त नहुने भन्दै आई.सी.सी थप कठोर हुन लागेको हो ।

साथै आई.सी.सीले च्याम्पियन्स ट्रफी प्रतियोगिताको स्वरुपमा परिवर्तन गर्ने तयारी गरेको छ । रिचर्डसनका अनुसार सन् २०२१ को प्रतियोगिता विश्व टी–ट्वेन्टी सरह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?