टोकियो । स्वीडेनसँग १–१ गोलको बराबरी खेल्दै समूह उपविजेता बन्दै जापान विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।
खेलको ५६औं मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै स्वीडेनका एन्थोनी एलङ्गाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै दुवै टोली विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । सन् २००२ मा सह–आयोजकका रूपमा पहिलोपटक अन्तिम १६ मा पुगेयता जापान लगातार तेस्रो पटक र पछिल्ला सात प्रयासमा पाँचौ पटक समूह चरण पार गर्न सफल भएको हो ।
जापानले समूह चरणमा एक जित र २ बराबरीसहित ५ अंक जोडेको छ भने स्वीडेनको ४ अंक छ । शुक्रबार बिहान नै सम्पन्न खेलमा ट्युनिशियालाई ३–१ ले हराएको नेदरल्याण्ड्स ७ अंकसहित समूह विजेता बनेर अघिल्लो चरणमा पुगेको छ ।
अब नकआउट चरणको खेलमा जापानले पाँच पटकको विश्वकप विजेता ब्राजिलसँग खेल्नेछ ।


