राष्ट्रकवि घिमिरेले पाए मानार्थ जर्नेलको फूली (फोटो फिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्द्धन र उजिल्याउने काम गरेबापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उनको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो। राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो। विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ।

उनका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन÷प्रशारण भएका छन्। सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।

समारोहमा नेपाली सेनाकोे इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?