जापानमा पाँचौँ सिल्भर रनिङ कप भलिबल प्रतियोगिता अक्टोबर ८ मा

|

टोकियो ।

घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबार जापानमा पाँचौँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको घुम्टे युवा परिवार जापान सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै आएको छ। प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन, संरक्षण र संवर्द्धन गर्नुका साथै जापानमा रहेका नेपाली खेलाडीलाई निरन्तर खेलकुद गतिविधिमा सक्रिय बनाइराख्ने उद्देश्यले प्रतियोगिताको पाँचौँ संस्करण आयोजना गर्न लागिएको संस्थाकी अध्यक्ष कल्पना खड्काले बताइन्।

अध्यक्ष खड्काका अनुसार खेलकुदका माध्यमबाट युवामा अनुशासन कायम गर्ने, खेलकुदको संरक्षण तथा प्रवर्द्धन गर्ने र युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने उद्देश्यले घुम्टे युवा परिवारको स्थापना भएको हो। यही उद्देश्यअनुरूप प्रवासमा रहेका नेपाली खेलाडीको हौसला अभिवृद्धि गर्दै उनीहरूलाई खेलकुदमा निरन्तर सक्रिय बनाइराख्न भलिबल प्रतियोगिताको सुरुवात गरिएको उनले बताइन्।

प्रतियोगितामा जापानमा क्रियाशील विभिन्न नेपाली सामाजिक संघसंस्था तथा खेलकुद क्लबका टोलीको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको संस्थाका सचिव प्रकाश थापाले बताए।

‘प्रवासमा रहेर पनि नेपाली भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको हो,’ थापाले भने, ‘प्रतियोगितामा सहभागी भई खेलकुदको विकास र प्रवर्द्धनमा साथ दिन सम्पूर्ण खेलाडी तथा सम्बन्धित संघसंस्थालाई हार्दिक अनुरोध गर्दछौँ।’

अघिल्ला प्रतियोगिताबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै यसपटक प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी भइरहेको सचिव थापाले बताए। जापानमा आयोजना हुने अन्य नेपाली भलिबल प्रतियोगिताका लागि समेत नमुना प्रस्तुत गर्ने उद्देश्यसहित व्यवस्थापन र खेल सञ्चालनलाई व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको उनको भनाइ छ।

प्रतियोगिता जापानको इबाराकी प्रान्त, उशिकु सहरको शिमोनेचोस्थित उशिकु स्पोर्ट्स पार्क व्यायामशालामा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम संयोजक मनोज केसीका अनुसार प्रतियोगिताको पुरस्कार राशि, विभिन्न विधामा प्रदान गरिने पुरस्कार, खेल तालिका तथा अन्य आवश्यक विवरण केही समयपछि सार्वजनिक गरिनेछ।

घुम्टे युवा परिवार जापानले खेलकुदका माध्यमबाट युवालाई एकताबद्ध गर्दै प्रवासमा नेपाली कला, संस्कृति र खेलकुदको पहिचानलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ। प्रतियोगितालाई सफल बनाउन संस्थाले जापानवासी नेपाली समुदाय, खेलाडी, खेलकुद क्लब तथा विभिन्न संघसंस्थासँग सहयोग र सहभागिताको अपेक्षा गरेको छ।