फ्रान्सको जितमा एम्बाप्पेको कीर्तिमान, अर्को कीर्तिमानको नजिक

|

टोकियो। विश्वकप फुटबल अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सले सेनेगलाई ३–१ ले पराजित गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा  चार गोल भयो ।

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा ३–१ को जित दिलाए ।

योसँगै उनी फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाउन सफल भएका छन्।

उनले ओलिभर जिरुडलाई पछि पारेका हुन् । जिरूडले ५७ गोल गरेका छन् भने एम्बाप्पेको ५८ गोल भएको छ।
एम्बाप्पे अब विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानबाट २ गोलले मात्रै टाढा छन्। विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ ।

उनले १६ गोल गरेका छन् भने ब्राजिलका रोनाल्डो नाजारियोले १५ गोल गरेका छन्। एम्बाप्पेले २०१८ मा ४ र २०२२ को विश्वकपमा ८ गोल गरेका थिए । जारी विश्वकपको पहिलो खेलमै २ गोल गरेपछि उनी अब ३ गोल गरेमा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

उनीसँगै जर्मनीका गर्ड मुलर, अर्जेन्टिनाका लियोनल मेस्सी र एम्बाप्पे संयुक्त रूपमा तेस्रो स्थानमा छन्।

यो विश्वकपमा मेस्सी पनि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने नजिक छन्। मेस्सीले पनि जारी विश्वकपमा ३ गाेल गर्नसके यो कीर्तिमान उनकाे नाममा बन्नेछ ।