जापानद्वारा विश्वकप फुटबलका लागि टोली घोषणा

|

टोकियो । जापाले आगामी जुनदेखि जुलाईसम्म हुने विश्वकप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

जापानले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रमुख प्रशिक्षक मोरियासु हाजिमेले घोषणा गरेको टोलीमा सुजुकी जियोन, ओसाको केइसुके र हायाकावा तोमोकी गोलकिपर रहेका छन् ।

यसैगरी रक्षापंक्तिमा नागातोमो युटो, तानिगुची शोगो, वातानाबे सुयोसी, सुजुकी जुन्नोसुके, इतो हिरोकी, इताकुरा को, तोमियासु ताकाहिरो, सेको अयामु र सुगावारा युकिनारी रहेका छन् ।

यसैगरी मिडफिल्डर र फरवार्डामा इन्दो वातारु, कामादा दाइची, सानो केइसु, तानाका एओ, इतो जुन्या, दोआन रित्सु, नाकामुरा केइटो, कुबो ताकेफुसा, सुजुकी युइतो, मेइदा दाइजेन, उएदा अयासे, ओगावा कोकी, गोटो केइसुके र शियोगाइ केन्टो रहेका छन् ।

११ जुनमा मेक्सिको सिटीबाट सुरु हुने विश्वकप जापानका लागि लगातार आठौं विश्वकप सहभागिता हो । समूह एफमा रहेको जापानले समूह चरणमा बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डसँगै ट्युनिसिया र स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

जापानले १४ जुनमा तीन पटकको विश्वकप उपविजेता नेदरल्याण्डसँगको खेलसँगै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ भने २० जुनमा ट्युनिसियासँग र २५ जुनमा स्वीडेनसँग खेल्नेछ ।

जापानले अहिलेसम्म चार पटक समूह चरण पार गरेको छ भने एकपटक प्रिक्वाटरफाइनलसम्म पुगेको छ ।