
टोकियो। जापानस्थित एनपीओ नेपाल युथ सकर प्रोजेक्टले नेपालबाट आएका यू–१२ फुटबल खेलाडीहरूको सम्मानमा ‘स्वागत भोज’ कार्यक्रम सम्पन्न गरेको छ।
जापानमा आयोजना भएको कोपा टोरेरोस यू–१२ फुटबल प्रतियोगितामा सहभागिता जनाउन आएका नेपाली खेलाडीहरूको स्वागतस्वरूप उक्त कार्यक्रम आयोजना गरिएको हो।
पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनको अध्यक्षतामा सम्पन्न स्वागत भोजमा जापानका लागि कार्यवाहक राजदूत हरीहर कान्त पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, एनआरएनए आईसिसिका सचिव शिवप्रसाद पौडेल, एनआरएनए जापानका कार्यवाहक अध्यक्ष विश्व सुवेदी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ ‘गोर्खाली’, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङ, ओम गुरुङ तथा अनिता तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

सो अवसरमा कार्यवाहक राजदूत पौडेलले खेलकुदले नेपाल र जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी यू–१२ खेलाडीहरूले नेपालप्रति सकारात्मक छवि निर्माण गर्नुका साथै प्रतिष्ठित जापानी खेलकुद क्षेत्रसँगको सम्बन्ध विस्तार र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको नेतृत्वमा सञ्चालित उक्त संस्थाले सन् २०१६ देखि नेपालका यू–१२ खेलाडीलाई जापान ल्याई यहाँ हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको छ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित जापान, स्पेन, पोर्चुगल, अष्ट्रेलिया, चीन, कोरिया, ताइवान, जर्मनीलगायत करिब ४० देशका क्लबहरूको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा नवनिर्वाचित एनआरएनए आईसीसीका उपाध्यक्ष ददीवल खड्का, एनबिए जापानका अध्यक्ष विजय थकाली, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
स्वागत भोज कार्यक्रम रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

