टोकियो । गलकोट स्पोट्रर्स क्लब टोकियो, जापानले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा ११औं सिल्भर रनिङ कप भलिबल प्रतियोगिता आयोजना २०२६ गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मान्यतासहित स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको पुरुष भलिबल प्रतियोगिता यसपटक खुल्ला महिला तथा मैत्रीपूर्ण भेट्रान्स खेल समेत मे ७ तारिख बिहीबारका दिन आयोजना गर्न लागेको महासचिव नारायण थापाले जानकारी दिए ।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवद्र्धन र खेलाडी र खेलको विकासमा टेवा पुर्याउने उद्देश्य लिएर प्रतियोगिता सञ्चालन गर्न लागेको महासचिव थापाको भनाई छ ।
प्रतियोगिता सञ्चालनका लागि मार्च महिनाको २४ तारिख मंगलबार बसेको कार्यसमितिको बैठकले कार्यविभाजन गर्दै वरिष्ठ उपाध्यक्ष गणेश केसीलाई कार्यक्रम संयोजक, कोषाध्यक्ष कुशल भण्डारीलाई आर्थिक संयोजक, उपाध्यक्ष दिनेश थापालाई अथिति सम्मान तथा कार्यक्रम व्यवस्थापन, डिजाइन तथा ट्रफी व्यवस्थापनमा उपाध्यक्ष असिम बस्नेत, खेल तथा प्राविधिक संयोजकमा विजय बस्नेत र सदस्य मनोज गौचन, प्रचार–प्रसार संयोजक महासचिव नारायण थापा, अनुशासन तथा स्वयंसेवकको जिम्मा उपाध्यक्ष सुरज के.सीलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष रमेश कुमार खत्रीले जानकारी दिए ।
क्लबको स्थापना प्रवासमा रहँदै खेलमार्फत युवाहरूबीच आपसी भाईचारा, सद्भाव तथा अनुशासन कायम राख्ने, खेलकुदको संरक्षण तथा प्रवद्र्धन गर्ने र युवा शक्तिलाई सामाजिक कार्यमा संलग्न गराउन अभिप्रेरित गर्ने उद्देश्यले गरिएको हो ।
सोही उद्देश्यअनुसार प्रवासमा रहेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्न क्लबले स्थापना कालदेखि नै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहलाई ३ लाख ३३ हजार ३३३ येन नगद, रनिंग सिल्भर कप, ट्रफी, मेडल र प्रमाण–पत्र, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ येन नगद नगद, ट्रफी, मेडल र प्रमाण–पत्र तथा सान्त्वना पुरस्कार (दुई टिमलाई), ६१ हजार १११ येन नगद र प्रमाणपत्र राखिएको छ । प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क ४० हजार येन तोकिएको छ ।
महिलातर्फ प्रथम पुरस्कार १ लाख ११ हजार १११ येन नगद, ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार ६६ हजार ६६६ येन नगद ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । महिला टोलीले दर्ता शुल्क २० हजार येन तिर्नुपर्नेछ ।
यसैगरी भेट्रान्स मैत्रीपूर्ण भलिबलतर्फ विजेता टिमले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स टिममा पुरुष भलिबल टिमबाट खेलेका खेलाडीहरू समावेश हुन पाउने छैनन् ।
यसका साथै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडीलाई ट्रफी र सम्मान पत्रद्वारा सम्मान गरिने छ । खेल प्रचलित नियमअनुसार नक–आउट सिस्टममा नेपाली रेफ्री द्वारा सञ्चालन गरिने बताइएको छ ।


