टोकियो । जापानस्थित एनपीओ नेपाल युथ सकर प्रोजेक्टले नेपालका बाल फुटबल खेलाडीहरुसँग स्वागत भोज कार्यक्रम आयोजना गर्ने भएको छ ।
जापानमा आयोजना हुन लागेको कोपा टोरेरोस यू–१२ फुटबल प्रतियोगिताअघि खेलाडीहरुको हौसला बढाउन नेपाली राजदूताबास, गैरआवासीय नेपाली संघ (एनआरएनए) र सम्पूर्ण संघसंस्था मिलेर खेलाडीहरुसँग ‘स्वागत भोज’ आयोजना गर्न लागेको हो ।
सो भोज यही मार्च २६ तारिख साँझ साढे ६ बजेदेखि ९ बजेसम्म टोकियोको शिन ओकुबोस्थित याताइमुरा रेस्टुरेन्टमा आयोजना हुन लागेको हो ।
नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलागी वसन्त गौचनको नेतृत्वमा रहेको यो संस्थाले बिगत सन् २०१६ देखि नेपालबाट बाल फुटबल खेलाडी जापानमा ल्याएर जापानमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।
तीन दिनसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित जापान, स्पेन, पोर्चुगल, अस्ट्रेलिया, चीन, कोरिया, ताइवान, जर्मनीसहित अन्य ४० वटा देशका क्लबहरुको सहभागिता रहनेछ ।

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी गौचन पछिल्ला २ दशकदेखि जापानलाई कर्मथलो बनाएर फुटबल गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनले नेपालका किशोर खेलाडीहरुलाई जापानमा आयोजना हुने टोरेरोज प्रतियोगितामा निरन्तर सहभागी गराउँदै आएका छन् ।
यसअघि गत डिसेम्बरमा उनको नाममा रहेको वसन्त गौचन फुटबल एकेडेमीले नेपालमा ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा १० देखि १६ वर्षसम्मका खेलाडीलाई लक्षित गरी फुटबल क्याम्प आयोजना गरेको थियो ।
जसमा गौचनसँगै जापानी प्रशिक्षक युता ओगुरा र नेपालका ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षण दिएका थिए ।



