काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा हालका प्रथम सचिव भवनाथ हुमागाईले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। यही पौष २८ गते हुने निर्वाचन मार्फत आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने अभियानमा सक्रिय रहँदै आएका हुमागाई इक्यानको केन्द्रीय कार्यसमितिमा कार्यसमिति सदस्य, प्रथम सचिव, संगठन तथा आन्तरिक मामिला विभागको संयोजकका रूपमा काम गरिसकेका छन्। संगठन भित्रको लामो अनुभवकै आधारमा उनले महासचिव पदमा दाबी प्रस्तुत गरेका हुन्।
इक्यानमा रहँदा हुमागाईंले केन्द्र-शाखा समन्वय मजबुत बनाउने, व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्ने, नयाँ शाखा तथा समन्वय केन्द्र स्थापना र सदस्यता विस्तारमा भूमिका खेलेको बताइन्छ। विशेष गरी संगठनात्मक व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणमा उनको सक्रियता देखिएको इक्यान स्रोतको भनाइ छ।
महासचिवमा निर्वाचित भएमा केन्द्र–शाखा समन्वयलाई संस्थागत बनाउने, नीति तहमा प्रभावकारी पैरवी गर्ने, सरकार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग इक्यानको हैसियत बलियो बनाउने, साथै पारदर्शी र आर्थिक रूपमा सबल संस्था निर्माण गर्ने उनको प्रमुख एजेन्डा रहेको छ।
त्यसैगरी युवा तथा नयाँ उद्यमीलाई संगठनमा समेट्ने दीर्घकालीन रणनीति कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन्।
अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशाको आधारमा इक्यानलाई अझ एकताबद्ध, सशक्त र सम्मानित संस्थाका रूपमा अगाडि बढाउने लक्ष्यसहित हुमागाईंले सदस्यहरूको विश्वास र मतको अपेक्षा गरेका छन्।









