नेपाल र जापानको पब्जी टोली सेमिफाइनलबाटै बाहिरिए

नेपाल र जापानको पब्जी टोली १९औं एसियाली खेलकुदको सेमिफाइनलबाटै बाहिरिएका छन् ।

शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो ।

फाइनल चरणमा पुग्न सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न असफल भएको छ । नेपालले जापानलाई भने पछि पारेको थियो ।

सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले ।

कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुग्दा नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिएका हुन् ।

इस्पोर्ट्समा नेपालले पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ । अब डोटा टु के अन्तर्गत नेपालले शनिबार क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?