एसिया कपको बहुप्रतिक्षित खेलमा आज नेपालको भारतसँग प्रतिस्पर्धा

नेपालले आज एसिया कप क्रिकेटको बहुप्रतिक्षित खेलमा भारतको सामना गर्दैछ ।

२७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कप अन्तर्गत समूह चरणको निर्णायक खेलमा नेपालले श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे भारतसँग खेल्न लागेको हो । यो खेल जित्ने टोली ‘सुपर फोर’ मा पुग्ने भएकाले दुवै टोलीका लागि महत्वपूर्ण छ ।

भारत टेष्ट र टी–२० फम्र्याटमा एक नम्बर र एक दिवसीयमा तेस्रो वरीयतामा रहेको टिम हो ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपालले विश्व क्रिकेटका दुई महारथी टोली भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको हो ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो ।

बुधबार मुल्तानमा भएको पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपालका लागि अघिल्लो चरणमा पुग्न भारतलाई हराउनै पर्ने बाध्यता छ ।

यो खेलमा दुई भारतीय प्रशिक्षक राहुल द्रविड र मोन्टी देसाई पनि आमने–सामने हुँदैछन् । यी दुवैले कुनै समय आईपीएल टोली राजस्थान रोयल्समा सँगै काम गरेका थिए ।

यसअघि मोन्टी नेपालको ब्याटिङ कन्सलटेन्ट हुँदा नेपाली यू–१९ टिमले भारतको यू–१९ टिममाथि ऐतिहासिक जित निकालेको थियो । त्यसबेला भारतको यू–१९ को प्रशिक्षक द्रविड नै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?