
मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा नेपालले हङकङविरुद्ध शानदार जित हात पारेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ८५ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालका लागि सम्झना खड्का ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाइन् भने ओपनर पूजा महतोले १८ बलमा १६ रन जोडिन् ।
उनी कप्तान क्यारी चानको बलमा बोल्ड भइन् भने अर्की ओपनर बिन्दु रावल शून्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू धरापमा परिन् ।
तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन, कप्तान रुबिना क्षेत्रीले २० बलमा १ चौका सहति १० रन बनाउँदा सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।
हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए ।
त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।
नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् ।
हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का हानिन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । यस्तै डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।
नेपालका लागि इन्दु बर्माले २ तथा कविता कुँवर रुबिना क्षेत्री र पूजा महतोले समान १–१ विकेट लिए ।
