पेनाल्टीमा चुक्दा जापान महिला विश्वकप फुटबलबाट बाहिरियो

एसियाली राष्ट्र जापान महिला विश्वकप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

न्युजिल्याण्डको इडनपार्कमा भएको खेलमा जापानलाई २–१ ले हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्वीडेनका लागि अमान्डा लेस्टेड्ट र फिलिप्पा एन्जलडलले गोल गर्दा जापानका लागि होनोका हायाशीले एक गोल फर्काइन् ।
खेलको ३२औं मिनेटमा अमान्डाले गोल गर्दै जापानविरुद्ध स्वीडेनलाई १–० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको स्वीडेनले खेलको ५१औं मिनेटमा पेनाल्टी पाएपछि फिलिप्पाले गोल गर्दै स्वीडेनलाई २–० गोलको अग्रता दिलाइन् ।

खेलको ७६औं मिनेटमा जापानले पेनाल्टी पाएको थियो । तर जापानकी रिको उएकी पेनाल्टीमा गोल गर्न चुकिन् ।

खेलको ८७औं मिनेटमा होनोकाले गोल गर्दै जापानलाई २–१ गोलको स्थितिमा पुर्‍याए पनि त्यो गोल खेल जित्न पर्याप्त भएन ।

स्वीडेनले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेन नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?