घुम्टे युवा परिवार जापानको आयोजनामा जुलाई २४ मा दोस्रो सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने

सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आफ्नो अलग्गै पहिचान बनाउन सफल घुम्टे युवा परिवार जापानले आगामी जुलाई २४ तारिख सोमबारका दिन जापानमा दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबका अध्यक्ष दिनेश थापाले खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरी युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्यसहित घुम्टे युवा परिवारको स्थापना भएकाले प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न प्रतियोगिताको आयोजना गरिन लागेको बताए ।

उनले प्रतियोगितामा जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायतबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहने विश्वास व्यक्त गरे । उनले भने- ‘प्रवासमा रहेरपनि भलिबल खेललाई निरन्तरता दिन प्रतियोगिताको आयोजना गरिएकोले सहभागिताका लागि सबैमा अनुरोध गर्दछौ ।’

गतवर्ष संचालन गरिएको प्रथम सिल्भर कप प्रतियोगिताको अनुभव र सिकाईलाई ध्यानमा राखेर जापानमा संचालन गरिने अन्य भलिबल प्रतियोगितालाई समेत नमूना प्रस्तुत गर्ने गरी क्लबले खेल संचालन गर्न आवश्यक तयारी गरिने क्लबका सचिव तुलवीर थापाले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख २० हजार नगदसहित सिल्भर रनिङ कप, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २० नगदसहित ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना दुई टिमलाई नगद ५१ हजारसहित प्रमाणपत्रको पुरस्कार रहेको छ ।

प्रतियोगितामा ५ विधाका ५ जनालाई उत्कृष्ट छनोट गरी नगद, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने छ । सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार तोकिएको छ । खेल 〒144-0031 東京都大田区東蒲田1丁目11−1 मा रहेको Ota City General Gymnasium को खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने छ ।

खेल प्रतियोगिताको टाईसिट जुलाई २३ तारिक ५ बजे सार्वजनिक गरिने खेल संयोजक मनोज केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?