वर्षाले अवरुद्ध नेपाल र यूएईबीचको बाँकी खेल भोलि

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनलको बाँकी खेल मंगलबार हुने भएको छ ।

मंगलबार सोमबार स्थगित गरिएकै स्थितिबाट खेल सुरु हुनेछ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको छ ।

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार बिहान ९ बजेदेखि सुरु हुनेछ । खेलको नतिजा निकाल्नका लागि यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो ।

वर्षाले सोमबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय लिएका हुन् ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।

मंगलबारको बाँकी खेलमा २८ औं ओभरका बाँकी तीन बल ललित राजवंशीले फाल्नेछन् । २८औं ओभरकोको चौथो बल ललितका लागि ह्याट्रिकको अवसर हुनेछ ।

उनले २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका छन् ।

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजेता घोषित हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?