ओमानमाथि नेपालको शानदार जित, सन्दीप र कुशलको कीर्तिमान

एसीसी प्रिमियर कपमा नेपालले ८४ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै लगातार दोस्रो जित हात पारेको नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च ३१० रनको योगफल बनायो ।

कुशल मल्लले सानदार शतक र सोमपाल कामीले अर्धशतक बनाएपछि एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनाएको हो । यसअघि मार्चमा भएको लिग टुमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

जवाफमा ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो ।

आफ्नो ५०औं ओडीआईमा नेपालले खराब सुरुवात गरेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालले खाता खोल्न २८औं बलसम्म पर्खिनुपरेको थियो ।

नेपालका लागि कुशल मल्लले ६४ बलमा १० छक्का र ४ चौकासहित १०८ रन बनाए भने सोमपाल कामीले ४८ बलमा ९ चौकासहित ६३ रन जोडे । यस्तै भिम सार्कीले ३३, आशिफ शेख र करण केसीले समान २९ र रोहित पौडेलले २३ रन बनाए ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानलाई सस्तैमा आउट गर्ने क्रममा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाए ।

१३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् ।

यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६/११ हो । सन्दीपले ओमान विरुद्ध ३ विकेट लिए ।

ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाए । उनले ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ९९ रनमा ५ विकेट गुमाएको ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गरेका थिए ।

अर्धशतकबाट ४ रनले चुकेका गौडले ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले र करण केसीले समान ३–३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?