
युएईमाथि १७७ रनको जित निकाल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ ।
यो जितसँगै नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जितेमा सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।
युएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । जारी शृखंलामा लगातार दोस्रो जितसँगै नेपालले अंक तालिकामा अमेरिकालाई पछि पारेको छ ।
नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ । अब बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि महत्वपूर्ण थियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालको ओपनिङ खराब रह्यो ।
तर मध्यक्रममा ब्याटरले सम्हालिएर इनिङ सम्हाल्दा नेपालले २४८ रन बनायो । जवाफमा २४९ रनको लक्ष्य पछ्याएको युएई ७१ रनमै अलआउट भयो ।
नेपाली स्पिनरहरुको घातक बलिङसामु युएईका ब्याट्सम्यान कुनै समय खुलेर खेल्न सकेनन् । नेपाललाई सहज जित दिलाउने क्रममा ललित राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एक–एक विकेट लिए ।
यूएईका आयन अफजल खानले सर्वाधिक २९ रन, अस्वनाथ भल्थपाले १४ र कार्तिक मैयाप्पनले ११ रन बनाउनु बाहेक कुनै पनि युएईका ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।