नेपालद्वारा पपुवा न्युगिनी ५२ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङसँगै नेपालले त्रिवि क्रिकेट मैदान कीर्तपुरमा पपुवा न्युगिनीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो ।

२९८ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७.१ ओभरमा २४५ रनमा समेटियो ।

पीएनजीलाई अलआउट गर्न नेपालका स्पिनहरु सन्दीप लामिछानेले ४, दीपेन्द्र सिंह ऐरीले र कुशल मल्लले १ विकेट लिए ।

पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए ।

जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग टू मा पाँचौ स्थानमा छ । नेपाललाई ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ ।

शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालको लागि उच्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्कीले ४४ रन जोडे । दुबई टुरमा चोटका कारण युएईविरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए ।

ओडीआईमा नेपालको पहिलो विकेटका लागि यो दोस्रो शतकीय साझेदारी हो ।

यसअघि लिग टु अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमानविरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेको थियो ।

आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरे । उनी कप्तान रोहितकुमार पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने ।

२०२१ सेप्टेम्बरमा ओमानमा भएको ओडीआई शृंखलामा पीएनजीविरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् ।

उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउनेमा पनि दोस्रो स्थानमा छन् । कप्तान रोहितले ४१ खेल खेल्दै नेपालका लागि सर्वाधिक १ हजार २०९ रन बनाएका छन् । उनले पनि १ शतक र ७ अर्धशतक नै प्रहार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?