नेपाल एक दिवसीय मान्यता जोगाउन २ जित टाढा

नेपाल एक दिवसीय मान्यता जोगाउन अब मात्रै २ जित टाढा रहेको छ । सोमबार भएको खेलमा युएईलाई हराउँदै नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

नेपालले अब घरेलु मैदानमा हुने अन्तिम त्रिकोणात्मक सिरिजका चारमध्ये २ खेल जिते एक दिवसीय मान्यता कायम रहनेछ । नेपालले चार वटै खेल जित्न सके एक दिवसीय विश्वकपको क्वालिफायर सिधै खेल्न पाउनेछ ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन जोडे । उनले ११५ बल खेल्दै ३ छक्का र २ चौका हाने । यस्तै आर्यन लाक्राले ७८ बलमा १ छक्का र ४ चौकासहित ५० रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३/३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट हात पारे ।

यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेपालको मध्यक्रमले सम्हालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनेको हो ।

कुशल भुर्तेल ग्रोइन इन्जुरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी जम्न सकेन । पावरप्ले भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो ।

ज्ञानेन्द्रले ११ रन बनाए भने पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै पभेलियन फर्किए ।

तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए ।

कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७.१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि सन्दीप लामिछाने माथिल्लो क्रममा ब्याटिङमा आएर २७ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । करिअरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?