
स्पेनिस ला लिगामा रियल मड्रिड ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
करिम बेन्जिमाले खेलको अन्त्यतिर पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भएको हो ।
जारी सिजनमा रियलको यो पहिलो बराबरी हो । यो बराबरीले शीर्ष स्थानको बार्सिलोनालाई फाइदा भएको छ ।
ला लिगा उपाधि रक्षाको अभियानमा रहेको रियलका लागि ८०औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।
त्यसअघि रियलका लागि खेलको ४२औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ओसासुनाका लागि किके गार्सियाले ५० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
बेन्जिमालाई फल गरेका डेभिड गार्सियाले रातो कार्ड पाउँदा ७८औं मिनेटमा ओसासुना १० खेलाडीमा समेटिएको थियो । यो बराबरीपछि रियलले ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
७ खेलबाट बार्सिलोना र रियलको समान १९ अंक भएको छ । गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ ।