बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते नेपाल आउने भएका छन् ।

लामिछानेले आफू नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोपविरुद्ध कानुनी लडाई लड्छु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोर्होयाउँछु ।’
उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि व्यक्त गरेका छन् ।
एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएकी थिइन् ।
केन्याविरुद्धको टी–२० सिरिज खेलेर क्यारेबियन लिग खेल्न गएका बेला उनीमाथिको आरोपपत्र दायर भएको थियो । उनी लिग छाडेर नेपाल आउन लागेको चर्चा चलेपनि अझै नेपाल आएका छैनन् ।
उनी नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरेको छ ।