
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले भिक्टोरिया पिजानलाई ५–१ ले हराएको हो ।
लेवान्डोस्कीले खेलको ३४ औं, पहिलो हाफको इन्जुरी समय र ६७ औं मिनेटमा गोल गरे । यसैगरी खेलको १३ औं मिनेटमा फ्रान्क केस्सी र ७१ औं मिनेटमा फेरान टोरेसले १–१ गोल गरे ।
भिक्टोरियाका लागि ४४ औं मिनेटमा जान सिकोराले एक गोल फर्काएका थिए ।
गएरातिकै अर्को खेलमा इंग्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग ४–१ को लज्जास्पद हार भोगेको छ ।
पहिलो हाफमा नै ३–० ले पछि परेको लिभरपुलले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको थियो । सोही समूहको अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४–० ले हरायो ।