महिला साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौंमा मंगलबारदेखि सुरु भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित हात पारेको छ ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता लिएको थियो ।
उनले राष्ट्रिय टिममा डेब्यु गरेकी फरवार्ड अमिसा कार्कीको पासमा १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । साबित्रा लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेकी हुन् ।

गतवर्ष घुँडाको चोटका कारण सावित्राले घरेलु मैदानमा बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटको दुई खेल गुमाएकी थिइन् ।

खेलको दोस्रो हाफको ६८औं मिनेटमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको ७३औं र ८४औं मिनेटमा अनिता बस्नेतले गोल गरेपछि नेपाल ४–० ले विजयी भयो । नेपालले समूहको अन्तिम खेल आगामी सोमबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?