एक खेलअघि नै नेपालले जित्यो केन्याविरुद्धको एक दिवसीय सिरिज

नेपालले केन्याविरुद्धको एक दिवसीय सिरिज पनि जितेको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा भएके दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै नेपालले सिरिज जितेको हो ।

यो जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अघि नै २–० ले आफ्नो पक्षमा पारेको हो । पहिलो एकदिवसीयमा नेपालले शुक्रबार केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय सोमबार हुनेछ । नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको थियो ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रनमात्रै बनाउन सक्यो ।

केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले भने कोलिन्स ओबुयाले ३७ रन, र नेल्सन ओधियाम्बोले २८ रन जोडे पनि जित दिलाउन सकेनन् ।

नेपालका दीपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले ३ र करण केसी, आदिल अन्सारी र पवन सर्राफले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । उनले ९५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४, करण केसीले ११, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २–२ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?