बर्नमाउथको पोष्टमा लिभरपुलको ९ गोल, सिटीको जितमा हालान्डको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगको जारी सिजनमा शानदार पुनरागमन गर्ने क्रममा लिभरपुलले बर्नमाउथलाई ९–० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको लिभरपुलले चौथो खेलमा आएर जित निकालेको हो ।

लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फिर्मिनो र लुइस डियाजले दुई–दुई गोल गरे भने हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक र फाबियो कार्भाल्होले एक–एक गोल गरे ।

बर्नमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल गरे । पहिलो जितपछि लिभरपुलले चार खेलबाट ५ अंक जोडेको छ ।

गएराति नै भएको अर्को खेलमा एर्लिङ ब्राउट हालान्डले दोस्रो हाफमा ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाएर क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा सिटी आधा घण्टामै दुई गोलले पछि परेको थियो । एतिहाड स्टेडियममा चौथो मिनेटमै सिटीका जोन स्टोन्सले आत्मघाती गोल गरेपछि क्रिस्टल प्यालेसले अग्रता बनाएको थियो ।

२१ औं मिनेटमा जोचिम एण्डरसनले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर पारे । सिटी दोस्रो हाफमा खेलमा फर्कियो ।

खेलको ५३ औं मिनेटमा सिटीका बर्नाडो सिल्भाले गोल गरे भने ६२ औं मिनेटमा गोल गर्दै हालान्डले खेल बराबरीमा ल्याए ।
उनले ७० औं र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे र सिटीलाई ४–२ को जित दिलाए ।

जितपछि सिटीले चार खेलबाट १० अंक जोडेको छ । क्रिस्टल प्यालेसको चार खेलबाट ४ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?