भारतीय फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

विश्व फुटबल महासंघ फिफाले भारतीय फुटबल महासंघ (एफआईएफएफ) माथि प्रतिबन्ध लगाएको छ । फिफाको नियमको गम्भीर उल्लंघन गरेको भन्दै फिफाले भारतीय फुटबलमाथि प्रतिबन्धको निर्णय गरेको हो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले यसै महिनाको सुरुमा भारतीय फुटबलमाथि प्रतिबन्ध लगाउनसक्ने बताएको थियो ।

यसका साथै फिफाले अक्टोबरमा हुने महिला यु–१७ विश्वकप आयोजना गर्ने अधिकार पनि खोस्ने चेतावनी दिएको थियो ।

एआईएफएफको चुनाव गराउने सर्वोच्च अदालतको निर्देशनको केही दिनपछि नै यो चेतावनी आएको थियो । सर्वोच्च अदालतबाट नियुक्त प्रशासक समितिले २८ अगस्टमा चनाव गराउने भन्दै प्रक्रिया अघि बढाएको छ ।

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले आइतबारमात्रै फिफाको धम्कीमाथि ध्यान दिन जरुरी नरहेको बताएका थिए । उनले आफ्ना साथी खेलाडीहरुलाई मैदानमा राम्रो प्रदर्शनमा ध्यान दिन पनि आगैह गरेका थिए ।

यु–१७ महिला विश्वकप फुटबल ११ देखि ३० अक्टोरबरमा भुवनेश्वर, गोवा र मुम्बईमा आयोजना गर्ने प्रस्ताव गरेको थियो ।

फिफाको प्रतिबन्धले सो प्रतियोगिता प्रभावित हुने भएको छ । यसबारे फिफाले पछि निर्णय लिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?