
ह्यारी केनले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि चेल्सी र टोटनह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
लण्डन डर्बीमा चेल्सीले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । दोस्रो हाफमा तनावपूर्ण बनेको खेलमा दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका थिए ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले १९औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा पिएरे एमिल होएभरले टोटनहमका लागि बराबरी गोल फर्काए ।
रिस जेम्सले ७७औं मिनेटमा चेल्सीलाई फेरि अग्रता दिलाएका थिए । तर इन्जुरी समयको अन्तिम मिनेटमा इभान पेरिसिकको कर्नरमा केनले हेडमार्फत गोल गर्दै चेल्सीसँग अंक खोसे ।
खेल सकिएपछि पनि आक्रामक व्यवहार देखाएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले रातो कार्ड पाएका थिए ।