
आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा हुने विश्वकप फुटबल एक दिन अघि सारिएको छ ।
कतार फुटबल महासंघको आग्रहमा फिफाले विश्वकप एकदिन अघि सारेको हो । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । अब २० नोभेम्बरबाटै विश्वकप सुरु हुनेछ ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । यसअघि यी दुई टोलीबीचको खेल २१ नोभेम्बरमा तय गरिएको थियो ।
कतार र इक्वेडरबीच तेस्रो खेल हुने भएपछि नेदरल्याण्ड्स र सेनेगलबीचको खेल पहिलो हुने थियो । तर अब विश्वकप एकदिन अघि सार्दै उद्घाटन खेलमा कतार र इक्वेडर भिड्न लागेका हुन् ।
नोभेम्बर २१ मा अब समूह ए अन्तर्गतका नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।