यसबर्ष सर्वाधिक कमाउने खेलाडीहरूको सूची सार्वजनिक

खेलकुद क्षेत्रलाई नै आफ्नो व्यवसाय बनाएका खेलाडीहरु धेरै पैसा कमाउन सफल भएका छन् । फ्रोब्स पत्रिकाले प्रत्येक वर्ष सर्वाधिक कमाउने खेलाडीहरूको सूची सार्वजनिक गर्ने गर्दछ । यस वर्षको शीर्ष सय खेलाडीमा २१ देश तथा ११ फरक–फरक खेललाई समावेश गरिएको थियो। जसमा ६३ जना अमेरिकी खेलाडी छन् भने ३२ जना बास्केटबल खेलाडी छन् । यद्यपि यो सूचीको शीर्ष स्थानमा भने फुटबलका क्रिस्टियानो रोनाल्डो छन् ।

क्रिस्टियानो रोनाल्डो

फुटबल

पोर्चुगल/रियल म्याड्रिड

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसै क्रममा स्पेनी ला लिगा क्लब रियल म्याड्रिडसँगको उनको अनुबन्ध थप चार वर्ष लम्बियो । आउने चार वर्षसम्म रियलले उनलाई बर्सेनि ५ करोड डलर दिनेछ । रोनाल्डोले नाइकसँग आजीवन अनुबन्ध गरेका छन् जुन १ अर्ब डलर बराबरको छ । गत वर्ष युरो २०१६ को उपाधि जिते यता पोर्चुगलले एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नाम नै रोनाल्डो राखेको थियो । उनको सीआर–सेभेन ब्रान्डका जुत्ता, अन्डरवेयर, जिन्स तथा होटलको शृङ्खला पनि छन् । सामाजिक संजालमा उनका २७ करोड ५० लाख फलोअर छन् । सन् २०१७ मा उनको आम्दानी ९ करोड ३० लाख छ ।

लेबर्न जेम्स

बास्केटबल

अमेरिका/क्याभिलियर्स

चार पटक एनबीएका मोस्ट भ्यालुएबल प्लेयर भएका लेबर्न जेम्सले सन् २०१६ मा क्याभिलियर्सलाई एनबीएको उपाधि दिलाए । क्याभिलियर्सले ५२ वर्षपछि उक्त उपाधि जितेको थियो । त्यसैले क्याभिलियर्सले उनलाई थप तीन वर्षका लागि १० करोड डलरमा अनुबन्ध गरेको थियो । उनका प्रायोजक नाइक, कोकाकोला, किया मोटर्स आदि हुन् । लेबर्नले नाइकससँग एक अर्ब डलर बराबर को आजीवन अनुबन्ध गरेका छन् । स्प्रिङ हिल इन्टरनटेनमेन्टको नाममा उनको आफ्नै उत्पादन कम्पनी पनि छ । यसबाट उनले पनि मनग्य आम्दानी गर्छन् । सन् २०१७ मा लेबर्नको आम्दानी ८ करोड ६२ लाख डलर छ ।

लियोनल मेसी

फुटबल

अर्जेन्टिना/बार्सिलोना

बार्सिलोनाका यी अर्जेन्टिनी फुटबलर सर्वाधिक कमाउने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । गत सिजन मेसीले लिगमा कीर्तिमान ५३ गोल गरे । त्यसै कारण बार्सिलोनाले सुधारिएको रकमसहित मेसीसँग अर्को अनुबन्धन गर्‍यो । गत डिसेम्बरमा मात्र उनले एडिडाससँग आजीवन प्रायोजनको अनुबन्धन गरेका थिए । मैदान बाहिर उनी जति कमाउँछन्, त्यसको आधा भाग त एडिडासबाट मात्र आउँछ । यस्तै मेसीले ईए स्पोर्टससँग पनि यसै पटक पाँच वर्षको नयाँ अनुबन्धन गरेका छन् । सन् २०१७ मा मेस्सीको आम्दानी ८ करोड डलर छ ।

रोजर फेडेरर

टेनिस

स्विट्जरल्यान्ड

रोजर फेडेररले जितेको ग्रान्ड स्लामको संख्या कीर्तिमान १८ पुगेको छ । फेडेरर ३५ वर्षका भैसके, तर उनको आकर्षण र ब्रान्ड भ्यालु उस्तै छ । उनका मुख्य प्रायोजकमा नाइक, विल्डसन, क्रेडिट स्विस, मर्सिडेज, रोलेक्सदेखि नेटजेट्स सम्म छन् । फेडेररले आफ्नो पूरा खेल जीवनमा पुरस्कार राशिबाट मात्र १० करोड ४० लाख डलर कमाएका छन् । यसमा प्रायोजनको रकम जोडिएको छैन । सन् २०१७ मा यी स्विस खेलाडीको आम्दानी ६ करोड ४० लाख डलर छ।

केभिन डुरान्ट

बास्केटबल

अमेरिका/गोल्डेन स्टेट वारियर्स

बास्केटबलका यी अमेरिकी स्टार खेलाडीका प्रायोजकको सूची पनि लामै छ, जस्तो, नाइक, बिट्स, अमेरिकन फेमिली इन्सुरेन्स, बीबीभीए, स्पार्लकिङ आइस आदि । नाइकले डुरान्टसँग दस वर्षका लागि अनुबन्ध गरेको थियो, जुन ३० करोड डलर बराबरको छ । मैदानमा गर्ने व्यक्तिगत उत्कृष्ट प्रदर्शन कै बलमा डुरान्ट अहिलेको स्थितिमा पुग्न सफल भएका हुन् । उनको प्रत्येक खेलमा औसत २७ दशमलव २ अंक आफैंमा अविश्वसनीय छ । यही प्रदर्शनले नै केभिनलाई आर्थिक रूपमा समेत सफलता दिलाएको हो । सन् २०१७ मा डुरान्टको आम्दानी ६ करोड ६० लाख डलर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?