आईसीसीलाई क्यानले जवाफ पठाउँदै, टर्ला त सदस्यता खारेजको खतरा ?

५ पुस, काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले डेडलाइनको दुई दिन अघि अन्तराष्ट्रिय क्रिकेट संघ (आईसीसी)लाई जवाफ पठाउने तयारी गरेको छ । आईसीसीले पत्र लेखेर क्यान पुनर्वहालीका लागि सन्तोषजनक कारण बुझाउन २२ डिसेम्बरसम्मको समय दिएको थियो । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आज आईसीसीलाई जवाफ पठाउन लागेको स्वीकार गरे ।

६ भदौमा क्यानले विशेष साधारणसभा बोलाएर सल्लाहकार समूहले बनाएको नयाँ विधान अनुमोदन गरेको थियो । तर, सल्लाहकार समूहमा सहमति नभएका केही विषय आफू अनुकुल संशोधन गरेेपछि विवाद देखिएएको छ । यो विधान राखेपले अनुमोदन गरेर आईसीसीमा पुगिसकेको छ । त्यसपछि आईसीसीले निर्वाचित क्यानलाई पत्र पठाएर निलम्बन फुकुवाका सर्तहरुमा खासै प्रगति नभएको बताए ।

साथै फेब्रुअरीमा बस्ने अर्को बैठकले क्यानको सदस्यता खारेज गर्न सक्ने चेतावनी दिइएको थियो । निर्वाचित क्यानले भने नयाँ विधानलाई नै प्रस्थान विन्दु मानेर सल्लाहकार समूहले काम गरेको र साधारणसभाबाट पास भएको विधानमा केही नमिलेका भए आपसी छलफलबाट मिलाउन सकिने जवाफसहित पत्र पठाउन लागेको छ । महासचिव प्याकुरेलले भने, ‘मेम्बरसिप क्राइटेरियाको सन्दर्भमा हामीले नयाँ सदस्यता लिन खोजेको होइन, निलम्बनमा परेका मात्र हौं । निलम्बनको २ वर्षमा हुन नसकेको प्रशासनिक लगायतका काम फुकुवा हुनासाथ हुन्छ भनेका छौं ।’ आईसीसीले गत वर्ष बैशाख १३ मा नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

आईसीसीको टोली नेपाल आउने

निर्वाचित क्यानले जवाफ पठाएपछि थप छलफलका लागि आईसीसीको टोली नेपाल आउने छ । सम्भवत नयाँ सरकार बनेपछि आईसीसीको टोली आउने बताइएको छ । यो टोलीले क्यानसहित सरोकारबाला पक्षसँग छलफल गरेपछि आगामी फेब्रुअरीमा बस्ने आईसीसीको साधारणसभामा नेपालसम्वन्धी प्रस्ताव पेश हुनेछ । यसले नेपालको सदस्यता खारेज गर्ने वा निलम्बन फुकुवा गर्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?