घर वनाउने सोचमा हुनुहन्छ पर्खनुस । यति सम्म बढ्यो सिमेन्ट र डन्डीमा भाउ

काठमाडौं–निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।सिमेन्ट, फलामे डन्डीको मूल्यसँगै र ट्रकको ढुवानी भाडामा समेत बिनाकारण ह्वात्तै बढाएको छ ।

‘पछिल्लो १० दिनमा सिमेन्ट र ट्रक भाडाको मूल्य ह्वात्तै बढाइएको छ,’ नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले मंगलबार नागरिकसँग भने, ‘बिनाकारण प्रत्येक दिन मूल्यवृद्धि गरिएको छ ।’ उनका अनुसार यो अवधिमा सुनको मूल्य जस्तै दिनको दुईपटकसम्म भाउ बढाइएको छ ।

निर्माण काम सुरु हुने हिउँदको समयमा सधैं विभिन्न बहाना बनाएर आफूखुसी मूल्य बढाउँदै आएका सिमेन्ट उद्योगीलाई यसपटक वीरगन्जको क्लिंकर समस्याले साथ दिएको छ । यही कारण यसपालि अझ धेरै मूल्य बढाएको खुद्रा व्यवसायीको भनाइ छ । पोहोरको तुलनामा यसपालि ५० रुपैयाँ बढी मूल्यवृद्धि गरिएको एक खुद्रा व्यापारीले बताए । उद्योगीको निशानामा परिने भन्दै उनले नाम सार्वजनिक नगर्न अनुरोध गरे ।

खुद्रा व्यापारीका अनुसार ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा सय रुपैयाँसम्म बढाइएको छ भने पिपिसी सिमेन्ट ८० रुपैयाँदेखि सय रुपैयाँसम्म बढाइएको छ । ब्रान्ड हेरी प्रतिबोरा ८ सय ५० देखि सुरु हुने ओपिसी सिमेन्टको मूल्य अहिले ९ सय ५० रुपैयाँ पु¥याइएको छ । महँगो ब्रान्डको ओपिसी सिमेन्ट ९ सय ८० रुपैयाँसम्म पुगेको खुद्रा व्यापारीले बताए ।

त्यसैगरी, सस्तो खालको पिपिसी सिमेन्टको मूल्य ७ सयबाट ८ सय रुपैयाँसम्म पु¥याइएको छ भने महँगो स्तरको भने ८ सय ३० सम्ममा बिक्री भएको छ । ‘मूल्यवृद्धि हुनुमा क्लिंकरको समस्या भनिएको छ,’ रिजालले भने, ‘बोर्डरमा सानो समस्या आयो भन्दैमा यहाँ तुरुन्त मूल्यवृद्धि गर्नुपर्ने जरुरत भएछ !’

त्यसैगरी, निर्माण सामग्री ढुवानी गर्ने ट्रक व्यवसायीले पनि ढुवानी भाडा बढाएका छन् । रिजालका अनुसार ट्रक व्यवसायीले भाडा ३० रुपैयाँसम्म बढाएका छन् । ट्रक व्यवसायी महासंघले बिनाकारण आफूखुसी भाडा बढाएको खुद्रा व्यवसायीको भनाइ छ । सिमेन्ट र ढुवानी भाडा एकैपटक वृद्धि हुँदा उपभोक्तालाई मार परेको छ । घर बनाउन सुरु गरिसकेका उपभोक्ताले एक्कासि मूल्यवृद्धि हुँदा मारमा पर्नु परेको हो ।

पूर्वाधार निर्माणमा प्रयोग हुने फलामे डन्डीको मूल्य पनि वृद्धि गरिएको छ । खुद्रा व्यवसायीका अनुसार फलामे डन्डीको मूल्य प्रतिकेजी ५ रुपैयाँसम्म बढाइएको छ । मुलुक आत्मनिर्भर रहेको फलामे डन्डीमा पनि मूल्यवृद्धि गर्नुपर्ने कारण नरहेको खुद्रा व्यवसायी बताउँछन् ।

सिमेन्ट व्यवसायी संघका अध्यक्ष ध्रुब थापाले भने सिमेन्टको मूल्य नबढाइएको दाबी गरे । औपचारिक रुपमा मूल्यवृद्धि नगरिए पनि सिजन अनुसार तलमाथि हुन सक्ने उनले बताए । ‘हामीले औपचारिक रुपमा वृद्धि गरेका छैनौं,’ थापाले, ‘सिजनल भेरिएसन भएको हुन सक्छ ।’

अध्यक्ष थापाले भारतबाट क्लिंकर र कोइला ल्याउन समस्या भएकाले मूल्यवृद्धि मात्र नभएर उद्योग नै बन्द हुनसक्ने बताए । भारतले रक्सोलमा क्लिंकर लगायत धुलो उड्ने सामान झार्न नदिने र यसलाई सुक्खा बन्दरगाहमा पठाइदिने निर्णय गरेको समचार आएको छ ।

त्यसैगरी, भारतले सिमेन्ट उद्योगा प्रयोग हुने कोइलामा पनि मूल्यवृद्धि गरेको थापाले दाबी गरे । ‘क्लिंकर आयातमा समस्या छ,’ थापाले नागरिकसँग भने, ‘कोइलाको मूल्य पनि बढाइएको छ ।’

हाल मुलुकमा खपत हुने क्लिंकरमध्ये बढीमा ३० प्रतिशत भारतबाट आउने गरेको छ । त्यसबाहेक मुलुकभित्रै पनि दर्जनभन्दा धेरै सिमेन्ट उद्योगले क्लिंकर उत्पादन गरेर बिक्री गर्ने गर्छन् । स्वदेशकै क्लिंकर प्रयोग गर्ने सिमेन्टले पनि मूल्यवृद्धि गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि भारतको अवरोधका कारण सिमेन्टको मूल्यमा ६ देखि १० प्रतिशतसम्म वृद्धि भएको नागरिकलाई बताएका छन् ।

लामो समयदेखि क्लिंकर आयातमा समस्या भएको, बोर्डरमा समस्या भएको अवगत गराउँदा पनि सरकारले ध्यान नदिँदा सिमेन्ट उद्योगलाई समस्या परेको उनले बताए । रक्सोलबाहेक विराटनगर, भैरहवा जस्ता नाकाबाट पनि क्लिंकर आयात गर्न अनुरोध गरे पनि त्यसमा केही पहल नगर्दा यो समस्या आएको सिमेन्ट व्यवसायीको भनाइ छ ।

सरकारले ध्यान नदिने, कोइलाको मूल्यवृद्धि हुने, बैैंकले ब्याज बढाउने जस्ता समस्याले सिमेन्टको भाउ बढ्ने गरेको थापाको भनाइ छ ।

खुद्रा व्यवसायी भने तत्काल निर्माण सामग्रीको मूल्य वृद्धि गर्नुपर्ने कारण नभएको बताउँछन् । ‘तत्काल सिमेन्ट, डन्डी, ट्रक भाडा बढाउनुपर्ने कारण देखिँदैन,’ रिजाले भने, ‘भर्खर सकिएको चुनावी खर्च उठाउन खोजेको जस्तो देखिन्छ ।’ त्यसैगरी, अहिले सरकार कमजोर भएको मौका छोपेर व्यवसायीले भाउ बढाएको आरोप पनि खुद्रा व्यवसायीले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?