नेपाली जनसम्पर्क समिति जापानको संयोजकमा डंगोल मनोनीत (पत्र सहित)

|


टोकियो । शेरवहादुर देउवा निकट नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले नेपाली जनसम्पर्क समिति जापानको संयोजकमा रेशमकुमार डंगोललाई मनोनयन गरेको छ ।

तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित कात्तिक १२ गतेको पत्रमा डंगोललाई जापानस्थित जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको उल्लेख छ ।

पत्रअनुसार विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन आगामी कात्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । तयारी समितिले कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको पनि पत्रमा उल्लेख छ ।

उक्त निर्णय २०८३ साउन २९, ३० र ३१ गते भएको राष्ट्रिय भेला तथा सम्मेलनको निर्देशन र भदौ १७ तथा १८ गते बसेको तयारी समितिको बैठकका आधारमा गरिएको पत्रमा जनाइएको छ ।

मनोनयन पत्रमा डंगोललाई कांग्रेसका स्थापित मूल्य मान्यता आत्मसात् गर्दै संगठन मजबुत बनाउन आग्रह गरिएको छ ।

पत्रमा कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै नियमित महाधिवेशनको पक्षमा तयारी अघि बढाउनु पर्ने धारणा राखिएको छ । विशेष महाधिवेशन पक्षले सार्वजनिक गरेको कार्यतालिकाप्रति पनि पत्रमा असहमति जनाइएको छ ।