टोकियो । टोकियोको गिन्जास्थित ‘GINZA SIX’ व्यापारिक भवनमा पेपर स्प्रे प्रहार गरी मानिसहरूलाई घाइते बनाएको आरोपमा प्रहरीले २४ वर्षीय चिनियाँ विद्यार्थीलाई पक्राउ गरेको छ। ओसाका प्रान्तको साकाई सहरमा बस्ने ती विद्यार्थीलाई अक्टोबर २८ मा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, मे २५ मा भवनको पहिलो तलास्थित एटीएम क्षेत्रमा उनले ३० वर्ष उमेर समूहका एक पुरुषलाई लक्षित गरी खुर्सानीमा पाइने क्याप्साइसिनयुक्त स्प्रे छर्केको आशंका छ। घटनामा करिब ३० जनाले आँखा र घाँटी दुख्नेलगायत समस्या बताएका थिए। तीमध्ये २५ जनालाई अस्पताल लगिएको थियो।
लक्षित पुरुषले आरोपितसँग चिनजान नभएको बताएका छन्। आरोपितले भने सोधपुछका क्रममा घटनाबारे बोल्न नचाहेको बताएका छन्। घटना अघि उनीसँग कुराकानी गरेको सुरक्षा क्यामेरामा देखिएका अर्का व्यक्तिको पनि प्रहरीले खोजी गरिरहेको छ। घटनाको उद्देश्य खुलिसकेको छैन।


