टोकियो । नेपालसँग झण्डै चार दशकदेखि आत्मीय सम्बन्ध गाँस्दै आएका जापानका समाजसेवी ताकाशी ताकेमोतोले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालीहरूका लागि आर्थिक सहयोग गरेका छन्।
जापान नेपाल फ्रेण्डशीप काउन्सिलका अध्यक्ष समेत रहेका ताकेमोतोले आफ्नै सक्रियतामा संकलन गरेको ३ लाख २२ हजार ९ सय २९ रुपैयाँ प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा पठाएका हुन्। उक्त रकम ट्रान्सफरमार्फत नेपाल पठाइएको हो।
नेपाल र नेपालीप्रतिको आत्मीयता केवल शब्दमा सीमित नराखी व्यवहारमै देखाउँदै आएका ताकेमोतोले बाढीपीडितको सहयोगार्थ दुई सातासम्म जापानका विभिन्न रेल स्टेसनमा उभिएर सहयोग रकम संकलन गरेका थिए। उनको मानवीय अभियानमा साथ दिँदै केही सहयोगीहरूले बैंकमार्फत समेत रकम उपलब्ध गराएका थिए।
नेपालमा विपत्ति पर्दा टाढा बसेर दुःख व्यक्त गर्नु भन्दा आफ्नो क्षमताअनुसार सहयोग जुटाउन सक्रिय हुने ताकेमोतोको यो प्रयासले नेपालप्रति उनको गहिरो सद्भाव र मानवीय संवेदनालाई पुनः उजागर गरेको छ।
१३४ पटक नेपाल पुगेका जापानी मित्र
ताकेमोतोको नेपालसँगको सम्बन्ध सामान्य पर्यटकको जस्तो मात्र छैन। हालसम्म १३४ पटक नेपाल भ्रमण गरिसकेका उनले देशका प्रायः सबै जिल्लामा पाइला टेकिसकेका छन्। नेपालको भूगोल, भाषा, संस्कृति, समाज र नेपाली जीवनशैलीसँग उनी गहिरोसँग परिचित छन्।
नेपाली भाषा धाराप्रवाह बोल्न सक्ने ताकेमोतो नेपाली पढ्न र लेख्नसमेत उत्तिकै दक्ष छन्। लामो समयदेखि नेपालसँग जोडिएका उनले आगामी जनवरीमा पुनः नेपाल भ्रमण गर्ने योजना बनाएको बताएका छन्।
चार दशकदेखि निरन्तर नेपाल र नेपालीको सेवामा
करिब चार दशकदेखि नेपाल र नेपाली समुदायसँग निकट रहेर विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा संलग्न ताकेमोतो जापानस्थित नेपाली समुदायमाझ परिचित र सम्मानित व्यक्तित्व हुन्।
नेपालप्रतिको उनको लगाव भ्रमण र सांस्कृतिक सम्बन्धमा मात्रै सीमित छैन। नेपाली समाजले सामना गर्ने कठिन परिस्थितिमा सहयोगका लागि अग्रसर हुनु उनको परिचय बनेको छ।
प्राकृतिक विपत्ति होस् वा अन्य मानवीय संकट, नेपाललाई आफ्नो दोस्रो घरसरह माया गर्ने ताकेमोतोले विभिन्न अवसरमा नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउँदै आएका छन्।
रसुवाका बाढीपीडितका लागि गरिएको पछिल्लो सहयोग पनि यही निरन्तर मानवीय सेवाको अर्को उदाहरण बनेको छ।
राष्ट्रियता र भूगोलभन्दा माथि उठेर मानवीय सम्बन्धलाई प्राथमिकता दिने ताकेमोतोको योगदानले नेपाल जापानबीचको जनस्तरीय मित्रता अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
नेपालमा विपत्ति पर्दा जापानका रेल स्टेसनमा उभिएर सहयोग जुटाउने उनको समर्पणले एउटा सन्देश दिएको छ। साँचो मित्रता सुखका क्षणमा मात्र होइन, दुःख र संकटका बेला पनि उत्तिकै बलियो भएर उभिन्छ।




