अर्घाखाँची समाज जापानद्वारा बाढीपहिरो प्रभावितका लागि ३ लाख ७० हजार सहयोग

|

टोकियो । अर्घाखाँची समाज जापानले रसुवासहित आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ लाख ७० हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले सेप्टेम्बर १३ मा आयोजना गर्ने तयारी गरेको तीजको दर खाने कार्यक्रम रद्द गरी राहत सहयोग अभियान सञ्चालन गरेको थियो।

अभियानबाट संकलित रकममा समाजको अक्षय कोषबाट २ लाख रुपैयाँ थपेर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

समाजका अनुसार राहत अभियानमार्फत जापानमा १ लाख ७९ हजार १ सय येन संकलन भएको थियो। उक्त रकम सटही गर्दा १ लाख ६९ हजार ७० रुपैयाँ प्राप्त भएको जनाइएको छ।

त्यसमा समाजको अक्षय कोषबाट २ लाख रुपैयाँ र नेपालबाट प्राप्त ९ सय ३० रुपैयाँ थप गरी कुल ३ लाख ७० हजार रुपैयाँ उद्धार कोषमा जम्मा गरिएको हो।

समाजले २०८३ भदौ १० गते रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको यथाशीघ्र उद्धार, राहत तथा सुरक्षित पुनर्स्थापनाका लागि आग्रह गरिएको छ।

समाजले राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुक प्रति आभार व्यक्त गरेको छ।