टोकियो । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि जापानको एइओन वन पर्सेन्ट क्लब फाउन्डेसनले ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबेले सेप्टेम्बर २ तारिख जापानस्थित नेपाली राजदूतावासमा पुगेर उक्त सहयोगसम्बन्धी प्रतिबद्धतापत्र हस्तान्तरण गरेका हुन्। सहयोग रकम हालको विनिमय दरअनुसार करिब ७५ लाख ८३ हजार नेपाली रुपैयाँ बराबर हुन्छ।
प्रतिबद्धतापत्रमा सन् २०२६ अगस्टमा नेपालमा आएको बाढीबाट प्रभावितहरूको सहयोग तथा विपद्ग्रस्त क्षेत्रमा सञ्चालन हुने उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि रकम प्रदान गरिएको उल्लेख छ।
यसैगरी, जापान विदेशी नागरिक रोजगार संघले १० लाख जापानी येन र जापान-नेपाल विकास मञ्चले पनि १० लाख येन सहयोग प्रदान गरेका छन्।
जापानस्थित नेपाली राजदूतावासले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट एइओन वन पर्सेन्ट क्लब फाउन्डेसनका अध्यक्ष हिरोयुकी वातानाबे तथा सहयोग प्रदान गर्ने अन्य संस्थाप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।


