काठमाडौं । जापानमा खाद्य तथा पेय पदार्थको थोक बिक्री वितरण गर्दै आएको पूर्ण ट्रेडिङ जापानले बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि २१ लाख येन (१९ लाख ९६ हजार ५० रुपैया) सहयोग गरेको छ।
कम्पनीले नेपाल सरकारको आह्वानअनुसार येहे रेमिट्यान्समार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक बैंक खातामा जम्मा गरेको जनाएको छ।
रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीका कार्यकारी प्रमुख टीका श्रेष्ठले जानकारी दिए।
पूर्ण ट्रेडिङ जापानले विपदमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारप्रति सहानुभूति प्रकट गरेको छ।
कम्पनीले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था र स्वयंसेवकहरूको योगदानप्रति सम्मान व्यक्त गरेको छ।
कार्यकारी प्रमुख श्रेष्ठले बाढीपहिरो प्रभावितहरूको राहत र पुनर्स्थापनामा योगदान पुर्याउन व्यक्ति, व्यावसायिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान समेत गरेका छन्।



