जापानमा नेपाली उत्पादनको बजार विस्तार गर्दै पूर्ण ट्रेडिङ

|

टोकियो । नेपाली उत्पादनलाई जापानी बजारसम्म पुर्‍याउँदै आएको पूर्ण ट्रेडिङ जापानले आफ्नो व्यावसायिक यात्रालाई थप विस्तार गर्दै नेपालमा उत्पादित ‘हाईलाइफ’ ब्रान्डका विभिन्न खाद्य उत्पादनको जापानमा बजारीकरण सुरु गरेको छ।

नेपाली स्वाद, मौलिकता र गुणस्तर बोकेका उत्पादनलाई जापानमा रहेका नेपाली समुदायसँगै फराकिलो उपभोक्ता बजारसम्म पुर्‍याउने उद्देश्यसहित पूर्ण ट्रेडिङले हाईलाइफका उत्पादन जापानी बजारमा ल्याएको हो।

यसै अवसरमा टोकियोमा सोमबार आयोजित औपचारिक कार्यक्रममा हाईलाइफका विभिन्न खाद्य उत्पादन सार्वजनिक गर्दै उत्पादनको विशेषता, गुणस्तर र जापानमा बजार विस्तारको योजना बारे जानकारी गराइएको थियो।

नेपालका चर्चित गायक निमा रुम्बाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हाईलाइफ कम्पनी नेपालका प्रतिनिधि, जापानमा क्रियाशील व्यवसायी तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

हाईलाइफका उत्पादनमा बासमती चामल, क्रिस्पी बेटन राइस, पिठो, सोयाबिन मस्यौरा, कुरुम कुरुम चिउरा, बेसन, सुजी र पपिट्स लगायतका विभिन्न खाद्य सामग्री समावेश छन्।

पूर्ण ट्रेडिङ जापानका प्रमुख कार्यकारी अधिकृत टीका श्रेष्ठले नेपाली उत्पादनको गुणस्तर र मौलिकतालाई जापानी बजारमा परिचित गराउँदै आगामी दिनमा यसको पहुँच अझ विस्तार गर्ने लक्ष्य रहेको बताउनु भयो।

नेपाली उत्पादन, नेपाली स्वाद र नेपाली पहिचानलाई जापानी बजारसँग जोड्ने पूर्ण ट्रेडिङको यो प्रयासले नेपाली खाद्य उत्पादनको पहुँच र बजार जापानमा थप विस्तार हुने अपेक्षा गरिएको छ।