टोकियो । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा साइबर आक्रमणमा गरी एउटा ठूलो इन्टरनेट क्याफेका ७० लाखभन्दा बढी सदस्यहरूको व्यक्तिगत विवरण हात पारेको आरोपमा टोकियोका एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अपराधको समयमा उच्च माध्यमिक विद्यालय (हाई स्कुल) का विद्यार्थी रहेका ती युवकमाथि अन्य व्यक्तिहरूसँग मिलेर सन् २०२५ को जनवरी १८ देखि २० को बीचमा ‘काइकात्सु फ्रन्टियर इंक’ को सर्भर ह्याक गरेको र करिब ७२.४ लाख प्रयोगकर्ताहरूको विवरण एक्सपोर्ट गरेको आशंका गरिएको छ ।
प्रहरीका अनुसार सर्भरबाट डाटा तान्नका लागि १८३ पटक ह्याक गरेपछि सो क्याफेको एप अस्थायी रूपमा बन्द हुन पुगेको थियो । यसरी कम्पनीको व्यवसायमा बाधा पुर्याएको आरोप पनि उनीमाथि लागेको छ ।
ती युवकले आफूले कम्पनीको व्यवसायमा बाधा नपुर्याएको भन्दै आरोपहरूलाई आंशिक रूपमा अस्वीकार गरेका छन् ।
प्रहरीले गत डिसेम्बरमा ओसाकाका एक १८ वर्षीय हाई स्कुलका विद्यार्थीलाई पनि टोकियोका युवकमाथि लागेकै समान आरोपमा पक्राउ गरेको थियो । उनले साइबर आक्रमणमा प्रयोग गरिएको एआई–जनित प्रोग्राम विकास गरेको आरोप छ ।
गत मे महिनामा क्याफे सञ्चालकको व्यवसायमा बाधा पुर्याएको आशंकामा टोकियोका एक १९ वर्षीय युवकलाई पक्राउ गरिएको थियो ।
यी तीनै जनाले साइबर आक्रमणका बारेमा जानकारी आदानप्रदान गर्न र चोरी गरिएको सदस्यता डाटा सेयर गर्न सामाजिक सञ्जालको प्रयोग गरेका थिए । यस समूहमा आबद्ध रहेका कक्षा ६ मा पढ्ने एक बालकको पनि यसमा संलग्नता थियो वा थिएन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


