जापानमा २५–४९ वर्ष उमेर समूहका ३७ प्रतिशत महिलामा बाँझोपनको समस्याः अध्ययन

|

टोकियो । जापानमा २५ देखि ४९ वर्ष उमेर समूहका करिब ३७.८ प्रतिशत महिलाले बाँझोपनको अनुभव गरिसकेका वा गरिरहेका एक विश्वविद्यालयको अध्ययनले देखाएको छ ।

पछिल्लो समय दम्पतीहरूले ढिलो उमेरमा ढिलो गरी सन्तान जन्माउने विकल्प रोज्नु यसको एउटा कारण मानिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुमानअनुसार विश्वव्यापी वयस्क जनसंख्याको १७.५ प्रतिशतले बाँझोपनको सामना गर्छन् । यस हिसाबले जापानमा बाँझोपनको समस्या जटिल बन्दै गएको देखिएको छ ।

‘१२ महिना वा सोभन्दा बढी समयसम्म नियमित रूपमा शारीरिक सम्पर्क हुँदा पनि गर्भधारण हुन नसक्नु’ लाई बाँझोपनका रूपमा परिभाषित गरिएको छ ।

‘यसको एउटा कारण मानिसहरूले ढिलो उमेरमा सन्तान चाहनु हुन सक्छ, जसको प्रमाण पहिलोपटक आमा बन्नेहरूको उमेरमा भएको वृद्धिले देखाउँछ,’ होक्काइदो विश्वविद्यालयकी सह–प्राध्यापक एवं अनुसन्धान समूहकी प्रमुख एरी माएदाले भनिन् ।

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) का देशहरूमध्ये उच्च स्थानमा रहेको जापानमा सन् १९९५ मा पहिलोपटक आमा बन्नेहरूको औसत उमेर २७.५ वर्ष रहेकोमा सन् २०२४ मा यो बढेर ३१ वर्ष पुगेको थियो ।

‘बाँझोपन पुरुषहरूमा पनि उत्तिकै सामान्य छ । यसलाई ‘महिलाको मात्र समस्या’ ठान्नु गल्ती हो,’ माएदाले भनिन् ।

सन् २०२४ को जनवरी र मार्च महिनाको बीचमा प्रत्येक घरपरिवारका सबै सदस्यहरूको सूचीकृत राष्ट्रव्यापी बासिन्दा दर्ताबाट कुल ३ हजार महिलाहरू चयन गरिएको थियो ।

विश्वविद्यालयले १२ सय वटा मान्य उत्तरहरू प्राप्त गरेकोमा विवाहित वा पुरुष पार्टनरसँग सँगै बस्ने ८५३ जनाको प्रतिक्रियाको विश्लेषण गरेको थियो ।

यस सर्वेक्षणमा सहभागीमध्ये केबल ८.३ प्रतिशत उत्तरदाताहरूले मात्र हप्तामा एक पटकभन्दा बढी यौनसम्पर्क गरिरहेको पाइएको थियो । जबकि सन् २०२० मा सार्वजनिक गरिएको एक अध्ययनमा संयुक्त राज्य अमेरिकाका विवाहित महिलाहरूमा यो संख्या करिब ६० प्रतिशत थियो ।

‘यौनसम्पर्कको न्यून आवृत्तिले गर्भधारणका लागि आवश्यक पर्ने समयलाई लम्ब्याइरहेको र बाँझोपनको दर बढाइरहेको सम्भावना छ,’ माएदाले भनिन् ।

अध्ययनले यसका अतिरिक्त लामो समयसम्म काम गर्ने घण्टा, जीवनयापनको वातावरण र आफ्नो यौन जीवनलाई प्राथमिकता दिन असफल हुने संस्कृतिलाई पनि प्रजनन क्षमतालाई असर गर्न सक्ने कारकहरूको रूपमा सूचीबद्ध गरेको छ ।

जापान सोसाइटी अफ अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजीका अनुसार जापानमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ– टेस्टट्युब बेबी) प्रविधिमार्फत जन्मिएका बच्चाहरूको संख्या सन् २०२३ मा करिब ८५ हजार पुगेर कीर्तिमान कायम गरेको समयमा यो नतिजा आएको हो । जुन कुल जन्मको प्रत्येक ८.६ जनामा १ जना बराबर हो ।

सन् २०२२ को अप्रिलमा प्रसूति तथा प्रजनन उपचारलाई सार्वजनिक बीमामा समावेश गरियो । जसले गर्दा अत्यधिक खर्चिलो हुन सक्ने यस प्रक्रियाको ढोका धेरैका लागि खुल्यो । तर यसमा रहेका उमेर र आवृत्तिको सीमा हटाउनुपर्ने मागहरू पनि भइरहेका छन् ।

नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसल सेक्युरिटी रिसर्चले सन् २०२१ मा गरेको एक अध्ययनले पनि ३९.२ प्रतिशत दम्पतीहरूले बाँझोपनको बारेमा चिन्ता व्यक्त गरेको फेला पारेको थियो ।