टोकियो। जापानको सिजुओका प्रिफेक्चरको हामामात्सुस्थित आफ्नै अपार्टमेन्टमा एक २० वर्षीया इन्डोनेसियाली युवतीको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
घटनाको केही समयपछि नजिकै रेलले किचेर अर्का एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीले यी दुई घटनाबीचको सम्बन्ध र महिलाको हत्यामा ती पुरुषको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।
केइको अल्ताइरा हानाफी नाम गरेकी ती युवती आफ्ना आमाबुवासँग बस्ने अपार्टमेन्टमा बिहान करिब ११ः४० बजे गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । प्रहरीले तत्कालै उनलाई अस्पतालमा पुर्याएपनि डाक्टरहरुले मृत घोषित गरेका थिए ।
प्रहरीका अनुसार छिमेकीले अर्को कोठाबाट महिला चिच्याएको आवाज सुनेपछि आपत्कालीन नम्बरमा फोन गरेका थिए । उनीहरूले कालो लुगा लगाएको एक पुरुष अपार्टमेन्टबाट बाहिरिएको समेत जानकारी दिएका थिए ।
त्यसको केही समयपछि जेआर तोकाइदो लाइनको रेलले किचेर एक पुरुषको मृत्यु भएको थियो । रेल चालकले कालो कपडा लगाएका एक व्यक्ति बार नाघेर रेलको पटरीभित्र पसेको देखेका थिए ।
छुरा प्रहारको यो घटना सिजुओका प्रिफेक्चरको हामामात्सुस्थित जेआर माइसाका स्टेसनबाट करिब ५०० मिटर पश्चिममा पर्ने आवासीय क्षेत्रमा भएको हो । एक ७० वर्षीय प्रत्यक्षदर्शीका अनुसार उनले अपार्टमेन्टको ढोकादेखि बाहिरको पार्किङ क्षेत्रसम्म रगतको टाटा देखेका थिए ।


