प्रधानमन्त्री ताकाइचीलाई ‘ज्वेलरी बेस्ट ड्रेसर’ अवार्ड

|

टोकियो । जापानकी प्रधानमन्त्री सानाए ताकाइची ज्वेलरी बेस्ट ड्रेसर अवार्डबाट सम्मानित भएकी छन् ।

शनिबार टोकियो बिग साइटमा आयोजित ३७औँ ‘जापान ज्वेलरी बेस्ट ड्रेसर अवाड्र्स’ समारोहमा प्रधानमन्त्री ताकाइची पनि विजेताहरूमध्ये एक बनेकी हुन् ।

गत वर्षभरि ‘सबैभन्दा बढी चम्किएका’ वा ‘गहनामा सबैभन्दा उत्कृष्ट देखिएका’ प्रतिष्ठित व्यक्तित्वहरूलाई ज्वेलरी उद्योगका व्यावसायिकहरूद्वारा मनोनयन गरी सन् १९९० देखि हरेक वर्ष जापान ज्वेलरी बेस्ट ड्रेसर अवाड्र्स प्रदान गरिँदै आएको छ ।

यस वर्ष अवार्ड जित्ने अन्य व्यक्तित्वहरूमा अभिनेत्री मिनामी हामाबे, अभिनेत्री तथा गायिका अत्सुको माएदा, गायक तथा गीतकार कोइची दोमोतो, अभिनेत्री मारिका मात्सुमोतो र अभिनेत्री तथा गायिका साकी ताकाओका रहेका छन् ।

अवार्ड ग्रहण गर्दै प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘यी गहनाहरूको चमक जस्तै म पनि कडा मिहिनेत गर्नेछु ताकि देशभरका धेरै मानिसहरूले देशको भविष्य उज्ज्वल रहेको महसुस गर्न सकून् ।’

आयोजकहरूका अनुसार ताकाइचीले समारोहमा लोनमा लिइएका मोती र हीरा जडित एक जोर झुम्का (इयररिङ्स) र एउटा हार (नेकलेस) लगाएकी थिइन् ।