उत्तरपूर्वी जापानमा ६.१ म्याग्निच्युडको भूकम्प, छैन सुनामीको चेतावनी

|

टोकियो । जापानको उत्तर–पूर्वी क्षेत्रमा आइतबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यो क्षेत्रमा लगातार गइरहेका शक्तिशाली भूकम्पहरूको श्रृंखलामा यो पछिल्लो भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन र तत्काल कुनै क्षति वा मानवीय हताहतीको रिपोर्ट आएको छैन ।

यद्यपि, आँधी (टायफुन) को सिजन चलिरहेका बेला लगातार गइरहेका भूकम्पका कारण पहिरो जान सक्ने चिन्ता बढेको छ ।

आइतबारको भूकम्प स्थानीय समय अनुसार बिहान ७ बजेर २५ मिनेटमा इवाते प्रिफेक्चरको तटीय क्षेत्रमा करिब ४० किलोमिटर गहिराइमा गएको थियो । यसले आओमोरी प्रिफेक्चर र वरपरका अन्य क्षेत्रहरूलाई समेत हल्लाएको थियो ।

जापान भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो । हालैका दिनहरूमा जापानमा लगातार भूकम्प गइरहेका छन् । जसमा बिहीबार मात्रै आइतबारको भूकम्प गएको क्षेत्र नजिकै ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जुन भूकम्पको म्याग्निच्युड प्रारम्भिक अनुमानभन्दा पछि संशोधन गरेर बढाइएको थियो । मौसम निकायले अझै अरू भूकम्पहरू जान सक्ने चेतावनी दिएको छ ।

यसअघि शुक्रबार मात्रै टोकियोको पश्चिममा पर्ने माउन्ट फुजी नजिकैको यामानासी प्रिफेक्चर र वरपरका क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।