जापानमा दुई वटा आँधीको कहर, पहिरोले १ जनाको मृत्यु

|

टोकियो । जापानको प्रशान्त महासागरीय तटीय क्षेत्र हुँदै दुईवटा समुद्री आँधी पार भएका छन् । समुद्री आँधीका कारण अत्यधिक वर्षापछि आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मौसम विज्ञान निकाय र स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका हुन् । जापान मौसम विज्ञान निकायका अनुसार आँधी ‘हिगोस’ र आँधी ‘मेक्खाला’ तथा मौसमी वर्षा गराउने वायुको प्रभावका कारण देशको दक्षिण–पश्चिमी, पश्चिमी र पूर्वी तटीय क्षेत्रहरूमा मुसलधारे वर्षा भएको छ ।

भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जानुका साथै सडकहरूमा क्षति पुगेको छ । यसका साथै हवाई तथा रेल यातायात सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

यामागुची प्रिफेक्चरमा शुक्रबार पहिरोका कारण एक घर भत्किँदा एक जना ७० वर्षीय वृद्ध बेहोस अवस्थामा फेला परेका थिए भने अन्य तीन जना घाइते भएका थिए । ती वृद्धलाई अस्पताल लगिएकोमा पछि मृत घोषित गरिएको थियो ।

मौसम निकायका अनुसार दुवै आँधी पूर्वी क्षेत्र पार गरेसँगै शनिबार रातिसम्ममा कमजोर भई न्यून चापीय प्रणालीमा परिणत भएका छन् ।